पथरी :  मोरङको पथरी शनिश्चरे ७ स्थित पथरी डाइनिया सडक अन्तर्गतको सम्झना चौकदेखि मायालुचोकसम्मको कालोपत्रे कार्यमा लापरवाही भएको पाइएको छ ।

प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट थालिएको कालोपत्रेको काम लापरवाहीपूर्वक भएको भन्दै नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको अनुगमन् समितिले गत सोमबार अनुगमनका क्रममा तत्काललाई काममा रोक लगाएको छ ।

सम्झना चौकदेखि मायालुचोकसम्मको ७ सय मिटर लम्वाईमा कालोपत्रेकालागि प्रारम्भिक चरणको काम थालिएको भएपनि पहिलेको उप्किएर बाँकी रहेको कालोपत्रे नै नउप्काई त्यसैमाथि गिट्टी हालिएको पाइएको छ । वल्र्ड ट्रेड कन्ट्रक्सन दमक झापाले ठेक्का लिएको सडकको ‘स्केरीफाई’ नगरेको, सव बेस नगरी बेसको मापदण्ड विपरितको गिट्टी प्रयोग गरेको तथा ग्रेडिङ समेत नगरी काम थालिएको पाइएको अनुगमन ससमिथिले जनाएको छ ।

तत्काल सम्झौता अनुरुप काम नभएकाले काम रोक्न निर्देशन दिइएको उपप्रमुख बास्तोलाले जानकारी दिइन ।