विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा स्वतन्त्रको नाममा प्रदर्शन गर्नेलाई कारबाहीको माग भएको छ ।

पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि ओली पक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताहरू भारतीय दलाल भएको भन्दै विराटनगरमा प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पार्टीकै जिम्मेवार सदस्यहरूको सहभागिता रहेको दाबी सहित कारबाहीको माग गर्दै अर्को पक्षले आज मोरङको नेकपा पार्टी कार्यालय पाञ्चालीमा धर्ना समेत दिएको छ ।

शुक्रवारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेतालाई गाली गलौज गरिएको थियो । त्यसपछि प्रचण्ड र माधव नेपाल पक्षीय युवा सङ्घका नेता तथा विद्यार्थी नेता सहितको टोलीले शनिवार मोरङका पार्टी अध्यक्ष ऋषि केश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगर समितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्की सहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाब समेत दिएका छन् ।

पार्टी नेताहरूलाई दबाब दिँदै अनेरास्ववियूका नेता ओसिम आलम, युवा सङ्घका नेता ईश्वरी आचार्य, विद्यार्थी नेता ताजिम अन्सारी लगायतको नेतृत्वमा ५० भन्दा बढी युवाहरू पार्टी कार्यालयमा भेला भएका थिए ।

विद्यार्थी नेता ओसिम आलमले पार्टीका शीर्ष नेताहरू विरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रूपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरू पनि केपी ओलीको राजीनामा माग्दै सडकमा आउने बताए । ‘स्थायी समितिको बैठकमा छलफल भइरहेको बेला सडकमा शीर्ष नेताहरूको बदनाम गर्ने गरी नाराबाजी, जुलुस गर्नेलाई कारबाही हुनुपर्छ,’ आलमले भने ‘पार्टी फुटाउन नेताहरूलाई उत्तेजित पार्ने र व्यक्तिको पछि लागेर विधि र पद्धतिलाई मिच्ने गरी कुनै गतिविधि हुनुहुँदैन भन्ने हाम्रो माग हो ।’

‘समृद्ध नेपाल, सुखी नेपालीको महान् अभियानमा चिसो पानी खन्याउने काम जो कसैबाट हुन्छ भने त्यस्ताको भण्डाफोर गर्छौँ,’ विद्यार्थी नेता अन्सारीले अगाडी भने ‘पार्टी एकताका लागि हाम्रो दबाब निरन्तर रहिरहन्छ ।’
यस्तै युवा सङ्घका नेता ईश्वरी आचार्यले प्रचण्ड या माधव नेपाल लगायतका नेतालाई बदनाम गर्ने गरी भइरहेको गतिविधि नरोकिए आफूहरू पनि ब्यानर लिएर सडकमा आउने बताए । ‘हामी पनि आन्दोलनबाट आएका मानिस हौँ, हामी पनि दुई÷चार सय जना मानिस लिएर सडकमा आउन सक्छौँ, के अब सडकबाटै फैसला गर्ने हो त ?’, आचार्यले ‘हामी विधिको पक्षमा छौँ, दुवै पार्टी अध्यक्षको पक्षमा छौँ, पार्टीको विधि विधान अनुसार गतिविधि हुनुपर्छ, हुलहुज्जत गर्ने र अनुशासनहीन गतिविधि गर्नेहरूलाई कारबाही हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरे ।’

युवा तथा विद्यार्थी नेताहरूको मन्तव्य पछि मोरङका नेकपा अध्यक्ष ऋषि केश पोखरेलले स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथानाम गाली गलौज गर्नेहरू पार्टी सदस्य हुन नसक्ने बताए । ‘स्वतन्त्रको नाममा सडकमा आन्दोलन गर्ने हो भने त्यो पार्टी सदस्य नै रहेन नि,’ उनले भने, ‘अहिले युवाहरूले पार्टी एकताको पक्षमा र नेताहरूलाई मिल्नुपर्ने दबाब दिनुपर्छ, कोही कसैले भनेको आधारमा सडकमा आउनु राम्रो होइन ।’ पोखरेलले पार्टी फुटको इतिहास देखिएको भन्दै फुटाउनेलाई कुनै पनि हालतमा फाइदा नहुने भएकोले विवादलाई हल गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

यस्तै नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरूको नाम लिस्ट लिएर आए कारबाही गरिने प्रतिबद्धता जनाएका छन् । नेताहरूको प्रतिबद्धता पछि युवा तथा विद्यार्थीहरूले पार्टी कार्यालयमै केही बेर धर्ना पनि दिएका थिए ।