धरान : धरान उपमहानगरपालिका वडा नं. १७ र १८ का उपभोक्ताहरूले एक सातादेखि खानेपानीको चरम अभाव भएपछि खानेपानी समस्या समाधान सङ्घर्ष समिति गठन गरेका छन् ।

शनिवार बिहान धरान १८ स्थित रत्न चोकमा भएको भेलाले अजेन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय सङ्घर्ष समिति गठन गरेका हुन् । वडा नं १७ र १८ का केही चोकहरूमा ६ दिन यता खानेपानीको चरम अभाव भएको कारण समाधानको लागि सङ्घर्ष समिति गठन गरिएको स्थानीयको भनाई छ ।

सङ्घर्ष समितिको उपाध्यक्षमा राधिका राई, सचिवमा प्रेमकुमार राई र कोषाध्यक्षमा भीम राई रहेका छन् । यस्तै, सदस्यहरूमा रविन गोतामे, अरुण साह, प्रज्वल राई, निर्मल राई, इन्दु रसाइली, सुदर्शन लिम्बु र दिलीप सुनुवार रहेका छन् ।

भेलाले ९ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सङ्घर्ष समितिले समस्या समाधान गर्न पहिलो चरणमा सम्बन्धित वडाका वडाअध्यक्षहरुलाई समाधानको लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । त्यसपछि पनि समस्या समाधान नभए उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखलाई पनि ध्यानाकर्षण गराउने निर्णय भएको समितिका सचिव प्रेमकुमार राईले जानकारी दिए ।

राईले वडा र उपमहानगरपालिकाबाट समेत मागको सम्बोधन नभए सम्पूर्ण वडावासीहरूको वृहत् उपस्थितिसहित चरणबद्ध आन्दोलनमा जाने निर्णय भेलाले गरेको जानकारी दिए ।