इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरीले पत्रकारको लेखन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको लेखनवृत्ती परियोजना सम्पन्न भएको छ । सो परियोजनामा आबद्ध भएका सुनसरीका ६६ पत्रकारलाई पारिश्रमिक वितरण गरिएको हो ।

सुनसरीका धरान, इटहरी उपमहानगरपालिका र रामधुनी र इनरुवा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न परियोजनाको पारिश्रमिक हस्तान्तरण गरिएको महासङ्घ सुनसरीले जनाएको छ ।
विगत ३ वर्ष देखी जारी लेखनवृत्ती परियोजनाको तेस्रो वर्षमा ६६ पत्रकार सहभागी भएको महासङ्घका सुनसरी अध्यक्ष अमर खड्काले बताए । इटहरीमा २७ जना, धरानमा २२, इनरुवामा १० र रामधुनीमा ७ जनाले लेखनवृत्तीमा सहभागिता जनाएको उनले बताए ।

इटहरी उपमहानगरपालिकाको २ लाख ५० हजार, धरानको ३ लाख र इनरुवा नगरपालिकाको १ लाख र रामधुनीको केही कम रकम सहयोगमा परियोजना सम्पन्न गरिएको खड्काले बताए ।

आफू महासङ्घको अध्यक्ष भएपछि पत्रकार कोलागि केही रचनात्मक काम गर्ने योजना बनेपछि लेखनवृत्ती सुरुवात गरिएको उनले जानकारी दिए । पहिलो वर्ष धरान, इटहरी, दुहबी, इनरुवा र बराहक्षेत्रमा परियोजना सञ्चालन भएको थियो । भने दोस्रो वर्ष धरान र इटहरीमा मात्र परियोजना सञ्चालन भएको अध्यक्ष खड्का बताउँछन् ।

नियमित रिपोर्टिङ गर्ने पत्रकारको क्षमता बढाउने र खोजमूलक समाचार सङ्कलन गर्ने बानीको विकास गराउने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको उनको भनाइ छ । यसलाई अझै परिष्कृत बनाउनको लागी लेखवृत्तीको फारम देखिनै छनौट प्रक्रिया स्तरीय बनाउँदै लैजाने योजना रहेको उनले सुनाए ।