धरान : झापा र मोरङमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । शनिवार दिउँसो करेन्ट लागेर झापा र मोरङमा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

झापाको मेची नगर नगरपालिका १४ का २७ वर्षीय चक्र बहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेका वायरिङका तारहरू सङ्कलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका भुजेललाई उपचारको लागी झापाको बि.एन्ड.सी. लगिएकोमा उपचारको क्रममा भुजेलको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

यसै गरी मोरङको रतुवामाई नगरपालिका ९ का ३२ वर्षीय खेम बहादुर भुजेलको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार अपराह्न ५ बजेको समयमा घर अगाडि रहेको बिजुलीको पोलमा रहेको वाईफाईको तारलाई बासले मिलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका भुजेललाई उपचारको लागी अरनिको अस्पताल उर्लाबारी लैजाने क्रममा अस्पताल पुग्नासाथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । सोही घटनामा घाइते भएकी मृतककी श्रीमती ३० बर्षीया कला भुजेलको नोबेल अस्पताल विराटनगर मा उपचार भइरहेको छ ।

यसै गरी झापा र मोरङका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका ५ का ३५ वर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो । शनिवार दिउँसो साँढे १ बजेको समयमा चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिब १ किलोमिटर तल सोही खोलाको डिलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसै गरी मोरङको कटहरी गाउँपालिका ७ का प्रधुम्न सरदारको ६ बर्षीया छोरी दीक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ । शनिवार दिउँसो ३ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई खोजतलास गर्ने क्रममा राती पौने १ बजे बगाएको स्थान भन्दा करिब ३ किलोमिटर दक्षिण मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।