इटहरी : उपमहानगरका नगर सभा सदस्यहरूले इटहरी उपमहानगरको आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम अहिले सम्मकै उत्कृष्ट रहेको बताएका छन् ।

नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौँ नगर सभाको दोस्रो बैठकमा बोल्दै नगर सभा सदस्य गणेश खत्रीले आर्थिक वर्ष २०७७ ०७८को बजेट नीति तथा कार्यक्रम तीन वर्षकै उत्कृष्ट र व्यवस्थित रहेको बताए । उनले कार्यान्वयनमा सबै जुट्नुपर्ने बताए ।

नगर सभा सदस्य डिक बहादुर राईले बजेट व्यवहारिक र उत्कृष्ट रहेको बताए । उनले बजेटले सवैक्षेत्रलाई सम्बोधन गरेको बताए । इटहरी चौकमा नेपालको नक्सा सहितको पृथ्वीको स्मारक राख्न लागिएकोमा खुसी प्रकट गर्दै नाम भने इटहरी चौक नै हुँदा राम्रो हुने जनताले माग गरेको बताए ।

अर्का सदस्य कर्ण बहादुर पौडेलले इटहरीमा प्रमुख प्रशासकीय अधिकृत चाडै परिवर्तन हुँदा समस्या हुने गरेको बताए । उनले भने “प्रमुख प्रशासकीय अधिकृत बस्ने भवन नै पोखरीमाथि छ नागको तापले पो हो कि किन हो हाकिम चाँडै जान्छन् ।”

यसै गरी नगर सभा सदस्य तेजनारायण चौधरीले इटहरी उपमहानगरले चालु आर्थिक वर्षमा ११ वटा र आगामी वर्ष थप गरी वहुवर्षे योजना सञ्चालन गर्न लागेकोमा खुसी प्रकट गरे । वहुवर्षे सडक योजनाका कारण गाउँ गाउँका जनताले उपमहानगरवासीको अनुभूति गर्न पाएको उनको भनाई छ ।

बैठकमा उपप्रमुख लक्ष्मी गौतमले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ पेस गरे भने अर्को बैठक असार २२ गते बस्ने छ ।