इटहरी : कौशी खेती प्रवर्धन गरी इटहरी उपमहानगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने अभियान सुरु भएको छ । इटहरी ६ जुटबिकाश टोलबाट सुरु भएको कौशीखेती प्रवर्धन कार्यक्रम इटहरीका ४, ५, ६, ९ र २० वडामा सञ्चालन हुने भएको हो ।

सोही कार्यक्रम अन्तरगत उपमेयर आत्मनिर्भर कार्यक्रमको २ लाख ५० हजारले इटहरी ६ का कौशीखेतीका सामग्री वितरण गरिएको छ । आइतबार इटहरी ६ स्वागत टोलबिकाशमा एक कार्यक्रमको आयोजना गरी ३० घरमा कौशीखेतीका सामग्री वितरण गरिएको हो । तरकारी रोप्ने स्टेन ड्रम, पानी हाल्ने हजारी र केही मल बिउ वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन् ।

कौशीखेती गर्दा स्वच्छ र ताजा तरकारी खान पाइने मात्र नभई धेरै आर्थिक बचत समेत हुने भएकोले यो कार्यक्रम ल्याइएको उनको भनाइ छ । पछिल्लो समय विषादीयुक्त तरकारी खाएर अनेकौँ रोग लाग्ने सम्भावना धेरै भएकोले त्यसबाट बचाउने कौशी खेती सहज र सरल उपाय रहेको उनले बताइन ।

वडा नम्बर ६ को स्वगत टोल विकास संस्थाका स्वागत नमुना कौशी खेती समूह र जुटबिकाश नमुना कौशी खेती समूह लाई इटहरीकै नमुना कौशीखेतीको रूपमा विकास गरिने भएको हो । त्यसैको आधारमा अन्य वडामा पनि कार्यक्रम प्रवर्धन गरिने उपमहानगरको तयारी छ ।