इटहरी : नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सुनसरीले निजी विद्यालयले लकडाउन समयको शुल्क लिए कारबाही गर्ने बताएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै नेबिसंघले अनलाइन कक्षा सञ्चालन गरेको बहानामा अभिभावक सँग शुल्क लिने काम अमानवीय र खेदजन्य भएको भन्दै कारबाही गर्ने बताएको हो ।

नेपाल सरकारले लकडाउनको समयमा कुनै पनि नयाँ भर्ना नगर्नु र अनलाइन कक्षाको शुल्क नलिनु भनेर निर्णय गरिसकेको अवस्थामा केही विद्यालयले शुल्क लिएको समाचार बाहिर आउन थालेकोमा नेबिसंघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

नेबिसंघ केन्द्रीय कार्यसमितिले यस अघिनै शुल्क लिने कार्य रोक्न अनुरोध गरिसेकेकोले अझै यस्ता कार्य दोहोरिए कडा कारबाही गरिने सुनसरी जिल्ला सभापति मन्दीप भट्टराईले बताए ।

लामो समय देखी निजी विद्यालयका शिक्षकले तलब समेत नपाएको गुनासो बाहिर आएकोले त्यसको अविलम्ब समाधान गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार सरकारले केही अनुदान दिने र विद्यालयले आफ्नै कोषको रकमले शिक्षकको पारिश्रमिक दिनुपर्ने नेबिसंघको माग रहेको छ ।