धरान : भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय झापाका पूर्व प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् ।

२०७२ मंसिर १० गते गलत विवरणको आधारमा भारतीयलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला अदालत झापाले आचार्यलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

झापामा बसेर व्यापार व्यवसाय गरेर बस्दै आएका भारतीय नागरिक मुस्तफा आलमलाई ज्यामिरगढि गाविसबाट सिफारिस लिई नेपाली नागरिकता बनाएको आरोपमा फरार रहेका आचार्य २० गते पक्राउ परेका थिए ।

जिल्ला अदालत झापाले गत मंसिर २ मा पक्राउ पुर्जी जारी गरेकोमा महानगरीय अपराध महाशाखाको समन्वयको जिल्ला टोलीले शनिवार काठमाडौँको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

पक्राउ पुर्जी आउन साथ प्रहरी खोज्न लागेको तर आचार्य फरार रहेका थिए । लकडाउनमा घरमै रहेको गोप्य सूचना पाएपछि आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ ।