झापा : झापाको गौरादहका एक जनालाई कोरोना देखिएपछि समुदायमा कोरोना गएको भन्ने त्रास फैलिएको छ । गौरादह १ नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीय एक वृद्ध महिलामा काठ्माडौंको पाटन हस्पिटलमा सोमबार पीसीआर परीक्षण पोजेटिभ आएसँगै समुदायमा कोरोना फैलने डर बढेको हो ।

घाँटीको समस्याले असार ११ गते सुरुमा बिर्तामोडको बी एन्ड सी हस्पिटलमा गएको र त्यहाँबाट पुनः बिर्तामोडकै नीलकण्ठ डाइग्नोस्टिक सेन्टर बिर्तामोडमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि पुनः छोरा र बुहारीको साथमा ती वृद्ध महिला काठ्माडौं गएकी थिइन् । उपचारको लागि जाँदा ती महिलाको पाटन हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको थियो ।

ती वृद्ध महिला बिरामी भएपछि उनीलाई भेट्न दमक र भद्रपुरबाट आफन्तहरू भेट्न गएको खुलेको छ ।

गौरादह नगरपालिकाको बैठकको निर्णय अनुसार उत्तरमा गौरादह -१ को चैतु चौक देखि वडा नम्बर २ को कार्की चौक, पश्चिममा वडा नम्बर -३ को गेउरिया पुलदेखि वडा १ र २ को डिट्ठा चौकसम्मको क्षेत्र भित्र अत्यावश्यक कामबाहेक आफ्नो घर भित्र रहन अनुरोध गरिएको नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।

भोलि गौरादह १ नवदुर्गा पेट्रोल पम्प छेउका स्थानीयवासी, सङ्क्रमित महिलाका परिवार, आफन्तहरूको पीसीआर परीक्षण गरिने गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।