धरान : धरान १४ को तल्लो हात्तीसारमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

धरान १३ कृषि बजारदेखि पूर्व पट्टिको माथि डाँडामा धरान १४ विजयपुरको तल्लो हात्तीसारमा धरान १ मा बस्दै आएका ४१ वर्षीय जितेन राई मृत अवस्थामा फेला परेका हुन् ।

घोप्टो अवस्थामा मृत फेला परेका राईको मुख र नाकबाट खुन बगेको देखिए पनि शरीरमा कहीँ कतै चोट नदेखिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

मृतक राई २०५९/०६० सालदेखि धरान १ ससुरालीमा बस्दै आएका थिए । उनी काठको मिस्त्री रहेको र घरैमा फर्निचर बनाएर बेच्ने गरेको बताइएको छ । दैनिक जसो उनी मदिरा सेवन गर्ने राई राति ११, १२ बजेतिर मात्र घर फर्किने गरेको जानकारी परिवारले प्रहरीलाई जानकारी दिइएको प्रहरीले बताएको छ ।

मृतक राईको अनुहारमा बगेको रगत देखिदा ठुलै चोट पटक लागेको जस्तो देखिए पनि बाहिरी चोट केही नदेखिएको र नाक र मुखबाट रगत निस्किएको पाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक ओलीले बताए ।

घटनास्थल र शवको मुचुल्का उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ ।