पथरी  : नेकपाको नेतृत्व रहेको १ नम्बर प्रदेश सरकारले मङ्गलवारे अस्पतालको नाम परिवर्तन नै गरेर लगे मदन भण्डारी स्मृति प्रतिष्ठानमा डोजर चलाउने नेपाली काँग्रेसका जिल्ला सभापति डिक बहादुर लिम्बुले धम्की दिएका छन् ।

बुधवार मङ्गलवारे अस्पतालको नाम परिवर्तन गरिएको भन्दै विरोधमा रिले अनसनमा बसेका लाई सम्बोधन गर्दै लिम्बुले प्रतिष्ठानले अस्पताल बनाउँछु भनेर लिएको जग्गा भाडामा लगाएकोले डोजर चलाउने धम्की दिएका हुन् ।

संम्वोधनका क्रममा लिम्बुले भने ‘२०५९ सालमा मङ्गलवारे चौक देखि दक्षिण पट्टि रहेको बिपी प्रतिष्ठानको जग्गामा मदन भण्डारी स्मृति प्रतिष्ठानले अस्पताल बनाउने प्रस्ताव अघि सारेपछि स्थानीयहरूले सो जग्गा प्रतिष्ठानलाई अस्पताल निर्माणका लागि दिएका थिए तर अहिले सुन्नमा आयो सो जग्गा पनि प्रतिष्ठानले भाडामा लगाएको छ, यदि त्यस्तो पाइएमा हामी प्रतिष्ठानको दिवालमा डोजर चलाउँछौ ’।

साथै लिम्बुले सो जग्गा नेपाली जनताको साझा सम्पत्ति भएका कारण सार्वजनिक जमिनलाई पार्टीकरण गर्न नहुने तर्क पनि अघि सारेका छन्

प्रदेश १ सरकारले आफ्नो नीति तथा कार्यक्रममा मङ्गलवारे अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणा गरे पछि स्थानीयहरूले सो निर्णय फिर्ता लिन दबाब दिँदै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

नेपाली काँग्रेस सहितका स्थानीय राजनीतिक दलका कार्यकर्ता सो अनसनमा दुई साता देखि सहभागी रहेका छन् । रिले अनसनको लाई काँग्रेसका विभिन्न तहका नेता तथा सांसदले सम्बोधन गरिरहेका छन् ।