धरान : धरानमा मखमलको जुत्ता बनाउने १५ दिने तालिम सुरु भएको छ ।

असार २२ गते देखि सुरु भएको १५ दिने तालिममा विभिन्न वडाका २० जना महिलाहरू सहभागी छन् । धरान ३ जल्पारोड स्थित नेवार एकता समाजको कार्यालयमा सञ्चालन भएको तालिममा डिप्लोमा हेन्डीक्राफ्टका सञ्चालक पुर्णकला मास्केले प्रशिक्षण दिई रहेकी छिन् ।

पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल उद्यमशील महिला सङ्घ सुनसरीको संयुक्त आयोजनामा तालिम सञ्चालन भएको हो ।

तालिम लिने तर तालिमलाई व्यवहारमा नउतार्ने समस्या देखिएकाले यस तालिम पश्चात् सहभागी सँग नियमित सम्पर्कमा रही उनीहरूलाई जुत्ता उत्पादन कार्यमा प्रोत्साहन गरिने नेपाल उद्यमशील महिला सङ्घ सुनसरीकी अध्यक्ष यशोदा कायस्थले बताइन् ।
१५ दिनमा राम्रो जुत्ता बनाउन सीप सिक्न सक्ने र घरमा नै बसेर जुत्ता तयार गरेर विक्री वितरण गर्न सकिने प्रशिक्षक पूर्ण कला मास्केले बताइन् । एक जोर जुत्ताको २५० रुपैयाँ देखि १५०० सय सम्ममा विक्री वितरण हुने र निर्माण सामग्रीको खर्च घटाएर २५ प्रतिशत फाइदा हुने कुरा प्रशिक्षक पूर्ण कला मास्केले बताइन् ।
सहकारीका सदस्य तथा विभिन्न वडामा रहेका केही गर्न चाहानेहरुलाई सहकारीको सामाजिक दायित्व निर्वाह गर्ने क्रममा तालिममा लगानी गरेको सहकारीको अध्यक्ष गङ्गा श्रेष्ठले बताए ।
विवाह तथा पार्टीमा उपयोग हुने उक्त मखमलको जुत्ताको माग धरान र आसपासको क्षेत्रमा राम्रो भएको र धरानमा उत्पादन गर्नेहरू पनि एक दुई मात्र भएकाले यस किसिमको कामको राम्रो अवसर भएको छ ।