धरान : केही दिन देखि निरन्तर पानी परिरहेकोले सप्तकोसी नदीको बहाव पनि यो वर्षकै उच्च आज १० बजे मापन गरिएको छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार यो वर्ष अहिले सम्म आज मापन गरिएको पानीको बहाव जस्तो अरू दिन नभएको र आज यो वर्षकै उच्च २ लाख १६ हजार ६ सय १५ प्रति सेकेन्ड क्युसेक पानीको बहाव मापन भएको छ ।

पानीको बहाव बढ्न थाले पछि अहिले कोसी ब्यारेजको ५६ ढोका मध्ये ३२ वटा ढोका खोलिएको छ ।
कोसीमा पानीको बहाव १ लाख ५० हजार पुगे पछि खतराको सङ्केत स्वरूप रातो बत्ती बालिने गरिन्छ । सोही अनुसार राति रातो बत्ती बालिएको छ भने दिउसो खतराको सङ्केत स्वरूप झन्डा राखिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

पूर्वी पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकोले सप्तकोसी नदीको बहाव अझ बढ्न सक्ने बताइएको छ । कोसी ब्यारेजको कुल भार वहन क्षमता ९ लाख रहे पनि ब्यारेज कमजोर बन्दै गइरहेकोले जोखिम पनि उत्तिकै रहेको बताइएको छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमका अनिकेस कुमारका अनुसार यो वर्ष केही दिन अघि एक पटक १ लाख ७७ हजार ७ सय २० प्रतिसेकेण्ड क्युसेक पानी मापन भएको भए पनि आज यो वर्षको पहिलो उच्च रेकर्ड हो ।