धरान : धरान प्रहरीले २ दिन लगातार मास्क नलगाई हिडनेलाई पक्राउ गर्‍यो । २,३ घण्टा वडा प्रहरी कार्यालय परिसरमा राखेर कोरोना सम्बन्धी जानकारी दिएर घर पठाउँदै थियो । तर शुक्रवार भने धरान प्रहरीले मस्क नलगाउने सर्वसाधारणलाई पक्राउ गरेन । उल्टै मास्क वितरण गर्‍यो ।

गृह मन्त्रालयले गएको सोमवार लकडाउन खुकुलो भएसङै सर्वसाधारणको बढी आउजाउ बढेको भन्दै कोरोनाबाट जोगिनका लागि मास्क अनिवार्य गरेको थियो । सोही अनुसार देशभर मास्क अनिवार्य गराउन सर्वसाधारणलाई प्रहरीले पक्राउ गर्‍यो । यो क्रममा पनि धरानमा दुई दिन यस्तै भयो । २ सय जना जतिलाई पक्राउ गरी सम्झाएर घर पठाए पनि सर्वसाधारणले मास्क नलगाई हिडने बढे । शुक्रवार भने धरान प्रहरीले धरानको मुख्य चौक भानु चौकमा मास्क नलगाउने सर्वसाधारणलाई मास्क नै वितरण गरेर कोरोनाको बारेमा जनचेतनामूलक जानकारी दिएर पठायो ।

मास्क प्रहरीको लागि होइन आफ्नै लागि हो । तर पनि सर्वसाधारणले नबुझेपछि सम्झाउँदै शुक्रवार १५ जना महिला, ८० जना पुरुष गरी ९५ जनालाई प्रहरीले मास्क वितरण गरेको वडा प्रहरी कार्यालय धरानका प्रमुख सई हेम लिङ्देनले जानकारी दिए ।

धरान प्रहरीले गृह मन्त्रालयबाट जारी भएको सूचनालाई कार्यान्वयन गराउन मास्क अनिवार्य गर्न हर तरह लागिरहने बताएको छ । सर्वसाधारणले पनि स्वास्थ्य मापदण्ड अनुसार दुरी कायम गरेर हिँडडुल गर्नुका साथै मास्क, पन्जा र स्यानिटाइजर साथैमा बोकेर हिडन सर्वसाधारणलाई धरान प्रहरीले अनुरोध पनि गरेको छ ।