धरान : धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठक नेकपा पक्षका वडाध्यक्षले बहिष्कार गरेको नभएर सहमतिमा बैठक स्थगित भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् ।

गएको असार १० गते स्थगित भएको सातौँ नगर सभा तोकिएको मिति आज हुनुपर्नेमा आज कार्यपालिका बैठक बोलाइएकोमा कार्यपालिका बैठकमा नेकपाका वडाध्यक्षले बैठकमा मेयरको २ लाख ४१ हजार बेरुजु पाइएको समाचार प्रति प्रश्न उठाएका थिए । बेरुजुको बारेमा मेयरबाट चित्तबुझ्दो उत्तर नआएपछि नेकपाका वडाध्यक्षहरूले कार्यपालिका बैठक बहिष्कार गरेर बैठक कक्षबाट बाहिरिएको ९ नम्बर वडाध्यक्ष रत्नबहादुर कटुवालले बताए ।

कार्यपालिका बैठकको निर्धारित समय भन्दा १ घण्टा ढिलो मात्रै उपस्थित भएका मेयर राईले कार्यपालिका बैठकमा बेरुजुको बारेमा चित्तबुझ्दो उत्तर नदिएकोले बहिष्कार को कुरा गर्दा मेयर राईले भने सहमतिमा बैठक स्थगित भएको दाबी गरे । उनले भने “मेरोमा मात्रै होइन अरूमा पनि यस्तो बेरुजु हुन सक्छ । मेरो नामको बेरुजु फरछौट भएर मात्रै बैठक बस्ने गरी सहमतिमा बैठक स्थगित भएको हो अरू केही होइन ।” आफ्नो नाममा रहेको बेरुजु फरछौटको लागि प्रक्रिया अघि बढीसकेकोले अव आइतबार सम्ममा कार्यपालिका बैठक बसेर कहिले स्थगित नगर सभा गर्ने भन्ने बारेमा निर्णय हुने मेयर राईले बताए ।

यता नेकपाले भोलि बिहान आफ्ना वडाध्यक्षहरूलाई पार्टी कार्यालयमा बैठकको लागि बोलाएको छ । त्यो बैठकले पनि कार्यपालिका बैठकको बारेमा निर्णय गर्ने बताइएको छ । नेकपा पक्षका कार्यपालिका सदस्यहरूको भूमिकाको बारेमा छलफल हुने बताइएको छ ।

धरान उपमहानगरपालिकाको सातौँ नगर सभा असार १० गते उद्घाटन भई नीति तथा कार्यक्रम प्रस्तुत भएर स्थगित गरिएको थियो । प्रस्तुत नीति तथा कार्यक्रम अझै पास भएको छैन । यसका लागि नगर सभा हुनुपर्ने हुन्छ । त्यही नगर सभा कहिले हुने हो भन्ने अन्योल कायमै रहेको छ ।