धरान : धरान उपमहानगरपालिकाको एन्फा क्वारेनटाइनमा बस्ने ४ जनामा कोरोना  पुष्टि भएको छ ।

गत २४ गते एन्फा क्वारेनटाइनमा बस्ने ४२ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । उनीहरू मध्ये ४ जना पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

सङ्क्रमितहरू धरान १३,८, र ५ नम्बर वडाका रहेका छन् । उनीहरू धरान १३ का ६६ वर्षीय पुरुष र धरान ८ का ३७ वर्षीय पुरुष बराइनबाट आएका हुन भने धरान ८ का २५ वर्षीय पुरुष र धरान ५ का २६ वर्षीय पुरुष साउदीबाट एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् ।

बराइनबाट २२ गते र साउदीबाट २३ गते नेपाल आई पुगेका उनीहरू चतरामा रहेको होल्डीङ सेन्टर हुँदै धरान १७ को एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् । उनीहरूमा कोरोना पोजेटिभ देखिएपछि अहिले उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।