धरान : सुनसरीको देवानगञ्ज गाउँपालिका ७ सिनुवारीका मिथुन उरावको हत्यामा संलग्न रहेका ५ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार गढी गाउँपालिका ६ सत्तेरझोडा स्थित बुढीखोला किनारमा गएको असार ६ गते मिथुनको शव गाडिएको अवस्थामा फेला परेको थियो । खोला किनारमा नचिनिने अवस्थामा भेटिएको शवको लामो समय पहिचान नखुले पछि सो शव धरान उपमहानगरपालिकामा जिम्मा लगाएको दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले जानकारी दिए ।

मृतकका बुबा जगदीश्वर उराँवले असार २४ गते मात्र प्रहरी कार्यालय पुगेर छोरा हराएको जानकारी दिएका थिए । मृतको हापपेइन्ट र भित्री वस्त्र प्रहरीले सुरक्षित राखेको थियो । पोसाक र तस्बिर वाट आफ्नो २५ वर्षीय छोरा मिथुन उराँव रहेको मृतकका बुवाले पहिचान गरेको प्रहरीले बताएको छ ।

असार ६ गते बुढी खोलामा भेटिएको बेवारिसे शव असार १५ गतेसम्म पनि आफन्त फेला नपरेपछि पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम पछि भिसेरा परीक्षणको रिपोर्ट आउन वाकी हुँदै हत्यामा संलग्न सबैलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतककी श्रीमती १६ बर्षिया प्रमीला उराँव , ससुरा रामदेव उराँव, सासू छाउनी देवी उराँव र ससुरालीका छिमेकी अरबिन उराँव र अजय उराँव रहेका छन् ।

श्रीमतीको साथमा असार ३ गते ससुराली देवानगंज गाउँपालिका –७ सिनवारीमा पुगेका मिथुन उरावलाई मंदीरा सेवन गराएर आमाछोरीले मिलेर हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  योजना अनुसार मृतकको पत्नी प्रमीला पति मिथुनलाई माइतीमा नै छोडेर साँझ आफ्नो घर फर्किएका थिए ।

उता सासू छाउनी देवी उरावले छिमेकी अर्विनलाइ उनको हत्या गर्न भन्दै २५ सय दिने बताएकी थिइन । छिमेकी अर्विनले एक्लै काम गर्न नसक्ने बताए पछि थप एक जना अजय उराँवलाइ पनि २५ सय दिने तर काम सकेर प्रहरीले थाहा पाएन भने मात्र दिने सर्थमा हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मातेका मिथुनलाई प्लाटिकको डोरीले घाँटीमा कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । हत्या पश्चात शवको व्यवस्थापनमा जुटेका उनीहरूले खोलाको किनारमा खाल्डो खनेर शवलाई गाडेर घर फर्किएको बताइएको छ । यसरी उनीहरूले मृतको शवलाई राम्रोसँग नगाडी हिँडेकाले असार ६ गते मृतको बेवारिसे शव फेला परेको थियो ।

हत्यामा संलग्न रहेकाहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सुनसरी अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले जानकारी दिएका छन् ।