धरान : धरान १३ को राई टोल पश्चिममा सर्दु खोलाले एक जनालाई बगाएर बेपत्ता बनाएको छ ।

केही दिन देखि परेको अविरल वर्षका कारण सर्दु खोलामा आएको बाढीले धरान १३ राई टोलमा बस्दै आएका अन्दाजी ६५ वर्षीय रामबहादुर बस्नेतलाई बगाएर बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

घर उदयपुरको गाईघाट भएको र भूतपूर्व भारतीय सैनिक समेत रहेका रामबहादुर बस्नेतलाई आज ३ बजे तिर खोलाले बगाएको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । उनका अनुसार उनी सर्दु खोला पारी धान रोप्न गएको बेला खोलाले बगाएको हो ।

अहिले यो समाचार तयार पारुन्जेल सम्म बस्नेत कहीँ कतै नभेटिएकोले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा खोजी कार्य जारी रहेको बताइएको छ । घटना स्थलमा सशस्त्र प्रहरी, सर्वसाधारणले व्यापक खोजी जारी राखेका छन् ।