धरान : प्रदेश १ मा शनिवार १९ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका २–२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरू असार १२ देखि १७ गते सम्म भर्ना भएकाहरू रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिए ।

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शनिवार २ वर्षीय बालिका सहित १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार झापाका ८ जना, सुनसरीका १ जना, खोटाङका ३ जना गरी २ वर्षीय बालिका सहित ४५ वर्ष उमेर समूहका ६ पुरुष, ६ महिला रहेका छन् ।

बीपीमा शनिवार ५ जना नयाँ कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् भने अहिले सम्म प्रतिष्ठानबाट २ सय ३९ जना निको भएर डिस्चार्ज भई सकेका छन् । अहिले प्रतिष्ठानको आइसोलेसनमा २८ जना कोरोना सङ्क्रमित उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ ।