धरानः नेपाली काँग्रेसका जिल्ला सचिव एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्घर्ष समितिका संयोजक सुजेन्द्र गोलेले खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखालाई गाभी हाल्न नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरिरहेको आरोप लगाएका छन् ।

परीक्षणकामा रहेको एसियाली विकास बैङ्क(एडिबी) को ऋणमा ल्याइएको करिब ३ अरबको असफल खानेपानी आयोजना जस्तो छ त्यस्तै जिम्मा लिई हाल्न र खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखालाई गाभी हाल्न नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरिरहेको गोलेले दाबी गरे । उनले उपनिर्वाचनबाट नगर प्रमुख निर्वाचित भएका नेपाली काँग्रेसका धरान नगर सभापति तिलक राईलाई नगरको परिषद् र कार्यपालिकामा दुईतिहाई भएको आडमा र पछिल्लो समय नगर प्रमुख राईको नाममा बेरुजु भएको भन्दै आयोजना जिम्मा लिन र संस्थानलाई बोर्डमा गाभ्न कार्यपालिका र नगर परिषद् बहिष्कार गरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाए ।

दुईतिहाईको दम्भमा नेकपाका जनप्रतिनिधिहरुले आफैले विज्ञको समिति बनाई आयोजनाको मूल्याङ्कन तथा प्राविधिक र आर्थिक परीक्षण गर्ने र विज्ञको प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिइने भनी कार्यपालिका बैठकमा गरेको निर्णयको समेत प्रवाह नगरी यसरी दबाब र व्ल्याकमेलिङ गर्नुले आयोजनामा ठुलै चलखेल भएको हुनसक्ने गालेले बताए ।

आयोजना अनुगमन समितिका संयोजक समेत रहेका गोलेले आयोजनाले डिपिआर र सम्झौता बमोजिम कुनै पनि लक्ष्य पूरा गर्न नसकेको बताए ।  आयोजनाले सन् २०३१ सम्ममा वृद्धि हुने जनसङ्ख्यालाई ७ मिटरको प्रेसरमा दैनिक न्यूनतम १६ घण्टा शुद्ध पानी उपलब्ध गराउने भनिए पनि वर्षा याममा समेत उक्त मापदण्ड र लक्ष्य हासिल भएको नपाइएकाले प्राविधिक र व्यवहारिक रूपमै आयोजना असफल भइसकेको उनले बताए ।

हाल दिन बिराएर पानी वितरण गर्ने गरेको, उपभोक्ताले पानी मोटर जडान गर्नुपरेको, धमिलो र लेदो मिसिएको पानी खान बाध्य भएको तथा कतिपय वडाहरूमा परीक्षण अवधिमै ट्याङ्कर पानी उपलब्ध गराउनु परेको, डिपिआर विपरीत थप २ वटा वेल निर्वाचन आचारसंहिता उल्लङ्घन गरी निर्माण गरेको जस्ता ज्वलन्त उदाहरणले पनि आयोजना असफल भएको पुष्टि भएको उनले बताए ।