धरान : धनकुटा र झापामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका २ बस्ने ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको छ । आज बिहान ९ बजे चौबिसे २ को सिचाईको लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा डुबेर सरस्वतीको मृत्यु भएको भनि स्थानीयले प्रहरी चौकी मुढेबासमा जानकारी गराएका हुन ।

हिडिरहेको अवस्थामा एक्कासी चिप्लिएर पोखरीमा पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी उता झापाको कचनकवल गाउँपालिका ३ बस्ने ३५ बर्षीय किलु टुडु लाई खोलाले बगाउदा उनको मृत्यु भएको छ ।

आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर २ सय मिटर तल खोलाको किनारामा उनको शव फेला परेको भनि स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराएका थिए ।