पथरी : मोरङको लेटाङ नगरपालिकाले चिसाङ खोलामा तटवन्ध सुरु गरेको छ ।

चिसाङ खोलाको पुल उत्तर पट्टीको केभलियन पैनी मुहानको भागवाट खोला बस्तीमा पस्न लागेको भन्दै तटवन्ध गरेर रोकथाम थालेको हो । नेपाल प्रहरी, नेपाली सेना र लेटाङ नगरपालिकाको सहकार्यमा प्राकृतिक प्रकोप व्यवस्थापन भइरहेको नगरप्रमुख शङ्कर राईले जानकारी दिए ।

अविरल वर्षा सँगै आएको बाढी बस्तीमा पस्ने अवस्था आए पछि नगरपालिकाले यसको रोकथामका लागि तटबन्ध गरेको हो । अविरल वर्षाले खोलाको बहाव बढेको र खोला बस्तीमा पस्ने जोखिम भएकोले रोकथामका लागि तटवन्ध गरिरहेको नगरप्रमुख राईले बताए ।

लेटाङमा चिसाङ, मोरङी र तेली खोलामा आएको बाढी पहिरोले खेतीयोग्य जमिन बगाएको छ भने चिसाङ खोलाले धार परिवर्तन गरे सँगै खोला बस्तीमा पस्ने जोखिम बढेको राईले जानकारी दिए । खोला बस्तीमा समेत पस्ने अवस्था आएपछि नगरपालिकाले यसको समाधानका लागि तटवन्ध गरिरहेको हो ।