पथरी : अविरल वर्षा सँगै तेली खोलामा आएको बाढीले खानेपानीको पाइप बगाएपछि मोरङको जाँतेमा खानेपानीको अभाव भएको छ ।

उत्तरी मोरङको लेटाङ ८ र ९ जाँतेका स्थानीयवासी खानेपानीको अभाव झेल्दै आएका छन् । शनिवार राती आएको बाढीले जाँते खानेपानीको पाइप र पाइप व्यवस्थापनका लागी राखिएका सिमेन्टका पिल्लर समेत बगाएको छ ।

बाढीले १७ वटा पिल्लर भत्काएर बगाएको छ भने खानेपानी ल्याउन प्रयोग गरिएका विभिन्न साइजका करिब १ हजार ७ सय ५० मिटर पाइप समेत बगाएको जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माले जानकारी दिए ।

तेली खोला नियन्त्रणका लागी लगाइएको ५३ थान स्परजाली समेत बाढीले बगाएको छ । विश्वकर्माका अनुसार दुई दिन देखी जाँतेवासीले खानेपानी अभाव झेल्दै आएका छन् । खोलामा बाढी नघटेका कारण सो भत्किएको पाइप मर्मत गर्न अझै केही दिन लाग्ने छ । बाढीले पाइप बगाउँदा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

खानेपानीको पाईप विच्छाएको ठाउँमा खोलाको मूल भङ्गालो नै बगिरहेकोले पाइप मर्मत गर्न केही दिन लाग्ने भए पनि वैकल्पिक व्यवस्था गरेर २,३ दिनमा यहाँका बासिन्दालाई खानेपानी उपलब्ध गराउने विश्वकर्मा बताउँछन् । बाढीले पाईप बगाउँदा स्थानीय १ हजार ४सय ५० घरधुरीका उपभोक्ता दैनिक खाने पानी उपभोग गर्न बाट वञ्चित भएका छन् ।

जाँतेका बासिन्दाले धाराबाटै मात्र पानीको उपभोग गर्दै आएको र खाने पानीको पाइप बगाएपछि समस्या भएको हो । स्थानीयवासीको अनुसार अन्य प्रयोजनका लागी खोलाको पानी प्रयोग गरिरहनु परेको छ । खोला र आकासे पानी लाई प्रयोग गर्नको विकल्प नभएको स्थानीयवासी बताउँछन् । बर्सेनि जाँते खानेपानीको पाइप तेली खोलाले बगाउने गरे पनि सम्बन्धित क्षेत्रबाट यसको निकासका लागी पहल हुन सकेको छैन । गत वर्ष समेत पहिरोले खानेपानीको पाइप बगाउँदा दश दिन जाँतेवासीले खानेपानीको चरम अभाव भोग्न पुगेका थिए ।