धरान : सङ्खुवासभाको सिलिचुङ गाउँपालिकाको १ बेसिन्दा गाउँमा गएको पहिरो ३ दिन बिती सक्दा पनि अझै बेपत्ता ११ जना फेला पर्न सकेका छैनन् ।

सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली हिजो पुगेपछि खोजी र उद्धार कार्य जारी रहेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिएका छन् । उनका अनुसार अहिले सम्म पहिरोबाट विस्थापित भएका ७३ घर धुरीलाई सिलिचोङ गाउँपालिकाको चित्रे भन्ने स्थानको खुल्ला चौरीमा सुरक्षित राखिएको छ । लेकको चौरी भएकोले विस्थापितहरूलाई स्वास्थ्य समस्या देखिन थालेको छ । चिसोका कारण पहिरोबाट विस्थापितहरू बिरामी पर्न थालेका छन् ।

उनीहरूलाई गाउँपालिकाले सामान्य त्रिपालको ओत बनाएर राखेको छ । प्रदेश सरकारले पाल टेन्ट र खाद्यान्न पहिरोबाट विस्थापितहरुलई पठाउने भने पनि मौसमका कारण हेलिकोप्टर घटना स्थलमा पुग्न सकेको छैन । यसले गर्दा सिलिचोङ को बेसिन्दा गाउँका पहिरो पीडितहरूको अवस्था झन् गम्भीर बन्दै गएको अध्यक्ष कुलुङले बताए ।

सिलिचोङको चेचेवामा पनि पहिरोबाट १३ घर विस्थापित
सिलिचोङ गाउँपालिकाको चेचेवा भन्ने स्थानमा पनि बेसिन्दा गाउँबाट झरेको पहिरोले गर्दा १३ घर धुरी विस्थापित भएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिएका छन् ।

गाउँपालिकाको स्वास्थ्य कार्यालय, हुलाक र वडा कार्यालय रहेको सो स्थान पनि पहिरोको उच्च जोखिममा रहेकोले सो स्थानका १३ घर परिवारलाई अन्यत्र सारिएको छ ।

पहिरोग्रस्त क्षेत्रमा बिजुली छैन
सङ्खुवासभाको पश्चिमी गाउँपालिका सिलिचोङ गाउँपालिकामा अझै सम्म राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन ।

स्थानीय सिसुवा खोला र चटेकमा हाइड्रो पावरबाट बिजुली उत्पादन गरी बिजुली बाल्दै आएका थिए । तर पछिल्लो समय गएको पहिरो र बाढीले हाइड्रो पावरमा क्षति पुर्‍याएकोले अहिले पहिरो गएको स्थानमा बिजुली नभएको अध्यक्ष कुलुङले बताए ।

मौसमले साथ दिएन
आइतबार बिहान गएको पहिरोले सिलिचोङ गाउँपालिकाको वडानं. १ बेसिन्दा गाउँको ९ घर बगायो । ९ घर सँगै ११ जनालाई पनि पहिरोले बेपत्ता बनाएको छ ।

अहिले सम्म खोजी कार्य जारी रहे पनि उनीहरू अझै फेला पर्न सकेका छैनन् । पहिरोमा परी हराइरहेकाहरूको खोजी कार्य घटनास्थल पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै स्थानीयवासी पनि लागि परेका छन् ।

तर प्रतिकूल मौसमका कारण हराइरहेकाहरूको खोजी र उद्दारमा समस्या भएको छ । हराइरहेकाहरूलाई ३ दिन सम्ममा पनि नभेटिनु नजिकैको सिसुवा खोला र काली खोलाको बगाएको हुनसक्ने अनुमान गरिएको छ । सिलिचोङको पहिरो पीडितहरूलाई व्यवस्थित बसोबासको लागि सङ्घ र प्रदेश सरकारले विशेष पहल गर्नुपर्ने अध्यक्ष कुलुङको भनाई छ ।

Besinda-pahiro Besinda-pahiro-3 Besinda-pahiro-2