धरान : धरानका बाढी पीडित तथा लकडाउन पीडित अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ, अमेरिकाको सहयोग तथा ग्रामीण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासङ्घको सङ्घीय सचिवालयको समन्वयमा उनीहरूलाई राहत वितरण गरिएको हो ।
नेपाली काँग्रेस सुनसरीका जिल्ला सचिव एवम् प्रवक्ता तथा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व पूर्वाञ्चल संयोजक सुरेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका ५ नं. वडा, ८ नं. वडा र १३ नं. वडाका अति विपन्न बाढी पीडित र लकडाउन पीडित ४० परिवारलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
बाढी र लामो समयको लकडाउनबाट आक्रान्त बनेका विपन्न र पीडितहरूलाई आवश्यक खाद्यान्न सामाग्री प्रदान गरी उच्च मानवीय कार्य गरेको भन्दै नेपाल आदिवासी जनजाति महासङ्घ, न्यूयोर्क, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, हाल अमेरिकामा रहनुभएका ग्रामीण क्लब हाउस इटहरीका अध्यक्ष मुकुन्द सुवेदी र नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामलाई प्रमुख अतिथि तामाङले विशेष धन्यवाद दिएका छन् ।
ग्रामीण क्लब हाउसका महासचिव धर्मप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र गोले तामाङ, ५ नं. वडा अध्यक्ष सन्तोष लिम्बु, ८ नं. वडा अध्यक्षका प्रत्याशी नन्दराज राई, नेपाली काँग्रेसका १३ नं. वडाका सभापति डम्बर तामाङ, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामा, ग्रामीण क्लब हाउस, इटहरीका सचिव तारा सुवेदी, सल्लाहकार शिवकुमारी सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बांझगरा उपशाखाका सभापति उमेश पौडेल, मतदान केन्द्र सभापति पदम सुन्दर लिम्बु, ५ नं. वडा सदस्य कुमार देवान, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        