विराटनगर :  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । खेलकुद क्षेत्र नयाँ ढङ्गले अगाडि बढेको तथा प्रदेश १ सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको उनले बताए ।

तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नं १ का खेलाडीहरूको सम्मानमा प्रदेश सरकार प्रदेश नं १ को तर्फबाट आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा आज बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन ।

खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको मुख्यमन्त्री राईले बताए । उनले साग प्रतियोगितामा प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरूले देशको साथै प्रदेशको शान बढाएको बताए । प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने सङ्कल्प प्रदेश सरकारले लिएको बताउँदै खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरू विनियोजन जानकारी दिए । खेलाडीहरूलाई व्यवसायीक ढङ्गबाट अगाडि बढ्न समेत आग्रह गर्दै मुख्यमन्त्री राईले खेलकुद क्षेत्रमा राजनीतिकरण गर्नु नहुने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेसाको रूपमा लिनु पर्ने धारणा राखेका थिए । साग पदक विजेता खेलाडीहरूका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जिविको पार्जनको माध्यम रूपमा समेत लिनु पर्ने बताए ।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुरूप प्रदेश सरकारले खेलाडीहरूलाई सम्मान गरेको हो ।

पदक विजेता खेलाडीहरूको बैङ्क खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले उपलब्ध खेलाडीहरूलाई सम्मान समेत गरेको हो । सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए ।

कतिपय खेलाडीहरू विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरूलाई प्रदेश सरकारले पुरस्कार सहित सम्मान गरेको हो । पदक प्राप्त खेलाडीहरूलाई ८० लाख नगद उनिहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरूले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरूको खेल क्षेत्रमा हौसला बढेको बताए ।