धरान : के तपाई भानुचौकमा हुनुहुन्छ ?

तपाई पहिलो पटक धरान आउनुभएको हो ?

हो भने धरानको कुन कुन ठाउँमा घुम्न जाने भन्ने बारेमा अन्योलमा हुनुहुन्छ ? हुनुहुन्छ भने अब तपाईको भानुचौकमा समय कटाउन र धरान आसपास काहा कसरी घुम्न सकिन्छ ? भन्ने बारेमा मज्जाले थाहा पाउनुहुनेछ ।

प्रदेश सरकारको सहयोगमा धरान उपमहानगरपालिकाले भर्खरै धरान आउनेलाई पर्यटनका लागि जानकारी दिने उद्देश्यले भानुचौको घण्टाघरको दक्षिण तिर डिजिटल भिडियो डिस्प्ले बोर्ड राखेको छ । यो बोर्डमा देखाइने विभिन्न पर्यटन र धरानको संस्कृतिहरू झल्काउने भएकोले धरान आउने नयाँ पर्यटकहरूले धरानको पर्यटन र संस्कृतिको बारेमा जानकारी पाउन सक्ने धरानका पर्यटन व्यवसायी वासुदेव बरालले बताए ।

प्रदेश सरकारले धरानको पर्यटनको विकास र प्रवर्द्धनका लागि १ करोड बजेट विनियोजन गरेको थियो । त्यही बजेटबाट धरान र धरान आसपासका क्षेत्रहरूमा पर्यटकीय स्थलहरूको प्रवर्द्धन, सम्र्वद्धन सँगै पर्यटकीय स्थलहरूको निर्माण धमाधम भइरहेको धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्र खतिवडाले बताए । प्रदेश सरकारको बजेट भित्रबाटै करिब ५ लाख रुपैयाँमा धरानको भानुचौकमा धरानको पर्यटन सम्बन्धी जानकारी दिने डिजिटल भिडियो डिस्प्ले बोर्ड राखिएको खतिवडाले जानकारी दिए ।

धरानको लाङ्घली सामुदायिक बनमा पर्यटन स्वागत तथा सहायता कक्ष स्थापना गर्ने काम पनि भइरहेको छ । त्यहाँ काम भइरहेकोले धरानको भानुचौकको घण्टाघरमा नगर पर्यटन सूचना केन्द्र अस्थाईरुपमा राखी त्यहीबाट पर्यटन सम्बन्धी सूचनाहरू दिइँदै आएको सूचना अधिकृत खतिवडाले बताए ।

भानुचौकमा राखिएको डिजिटल भिडियो डिस्प्ले बोर्डले धरानमा आउने नयाँ आगन्तुकलाई धरानको संस्कृति र यहाँको पर्यटनबारे जानकारी दिनका साथै सर्वसाधरणहरुलाई पनि मनोरञ्जन प्रदान गर्नेछ । भिडियोमा धरानका कला, संस्कृति सँगै, प्याराग्लाइडिङ, क्याननोईङ लगायतका भिडियोहरु देखिनेछन् । यो बोर्डले पछिल्लो समय धेरैको ध्यान तान्न सफल भएको छ ।

धरानमा पर्यटकीय क्षेत्र र पर्यटन सम्बन्धी के भइरहेका छन् त ?
धरान उपमहानगरपालिकामा प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेपछि अहिले धरानमा पर्यटन सम्बन्धी विभिन्न कामहरू धमाधम भइरहेका छन् ।

कति काम सकिएका छन् भने कति काम भइरहेको र हुनेवाला छन् । धरान उपमहानगरपालिकाले दिएको जानकारी अनुसार धरान २० को सुलिकोटमा रे्यालिङ सहितको पदमार्ग करिब ९ लाखमा निर्माण भएको छ । त्यसैगरी धरान २० कै सिद्ध पोखरीको संरक्षणका लागि सिमाङ्कन गरिएर जग्गा छुट्टाइएको छ । त्यसका लागि धरान उपमहानगरपालिकाले ४ लाख खर्च लाग्ने जनाएको छ । धरानमा पर्यटन सूचना केन्द्रका लागि विभिन्न सामाग्रीहरू अहिले जुटाउँदै गरिएको छ ।

धरान २० कै बीपी पार्कमा टायल लगाउनुको साथै बृक्षरोपण गरिएको छ । धरान ६ मा सडक किनारामा विशेष प्रकारको बिरुवा रोपिएको छ । यसै गरी धरानको पर्यटनलाई समेटेर भर्खरै धरान उपमहानगरपालिकामा पर्यटन हाते पुस्तिका समेत प्रकाशित गरिएको छ ।

धरानमा पछिल्लो समय यसरी धरानको पर्यटनको विकास, पर्यटन प्रवर्द्धन लगायतका कामहरू भइरहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

Video-Display-1