धरान : बराहक्षेत्र नगरपालिकाको वाडानं. ६ ठाकुरबारीमा रहेको दुई वटा स्परलाई सप्तकोसी नदीले कटान गरिरहेको छ ।

नदीले बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी बजार देखि पश्चिममा रहेको ९ र १० नम्बर स्परमा मङ्गलवार राति देखि कोसीले कटान सुरु गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए । स्परको अगाडि पट्टीको भाग र स्परको पूर्वी र पश्चिमी भागमा पनि कटान गरेको छ ।

कटान हुन थालेपछि हिजो बिहान देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित कोसी प्रोजेक्टका कामदार र स्थानियबासीहरुले बोरामा बालुवा भरेर जाली र ढुङ्गाको जाली लगाएर नियन्त्रणका लागि खटिरहेका छन् । १० नम्बर स्परमा करिब १८ फिट कोसीले कटान गरेको बताइएको छ ।

सप्तकोसी नदीको एउटा भँगालोले पाँच दिनदेखि पूर्वी तटबन्धको ९ र १० नम्बर स्परलाई धक्का दिँदै आएको थियो । पोख्रेलकाअनुसार कटान तीव्र भएपछि मङ्गलवार रातीदेखि नै कटान रोक्नलाई काम भइरहेको छ । कोशीले कटान गरिरहेको सो क्षेत्रमा अहिले रात दिन गरेर काम भइरहेको छ । अहिले पनि सो स्थानमा २ सय जनाले सिमेन्टको प्रकोपाईन, बालुवा भरिएको बोरा र ढुङ्गामा जाली लगाएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

आज भने कोसी नदीको बहाव घटेको छ । आज बिहानको मापन अनुसार १ लाख ४६ हजार २ सय ५५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ । आज पानीको बहाव घटेकोले २६ वटा मात्रै कोसी ब्यारेजको ढोका खोलिएको छ । पानीको बहाव घटे पनि कटान जारी रहेको बताइएको छ । कटान भइरहे पनि कटान क्षेत्रमा तीव्र गतिमा काम भइरहेकोले जोखिम नभएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।

कोसी ब्यारेज पुलदेखि उत्तरको बराहक्षेत्र नगरपालिका क्षेत्रसम्मको करिब ८० किलोमिटर लम्बाईको बाँध भत्किएमा वा कटान भएमा भारत सरकारले नै बनाउनुपर्ने नेपाल र भारतबिच भएको सम्झौतामा उल्लेख छ । सोही सम्झौता अनुसार भारत सरकारले वर्षेनी कटान रोक्ने प्रयास गरे पनि पूर्णरुपमा सफल हुन सकेको छैन ।

पूर्वी किनार र पश्चिमी किनारमा कटान बढ्नुमा कोसी ब्यारेज नै मुख्य कारण रहेको कोसी पीडित सङ्घर्ष समितिका सचिव बाबुराम कार्कीले बताए । नदीले बगाएर ल्याएका ढुङ्गा मुढा, गिटी बालुवा ब्यारेजले रोक्ने भएकाले बहाव परिवर्तनसँगै जम्मा भएको बालुवाको सतह उठेपछि सप्तकोसीले पानीको बहाव परिवर्तन गर्दा दाया बाया किनारामा जोखिम बढने गरेको बताइएको छ ।

Koshi-Katan-3 Koshi-Katan-4 Koshi-Katan-2 Koshi-Katan-7 Koshi-Katan-6 Koshi-Katan-5