धरान : धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै शुक्रबारदेखि धरान आउने तीन पाङ्ग्रे सवारी साधनलाई प्रवेश र बाहिरिनमा रोक लगाउने भएको छ ।

बिहिवार बसेको सर्वदलीय बैठकपछि धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी सो कुराको जानकारी गराएको हो । सूचनामा अत्यावश्यक खाद्यान्न तथा औषधी बाहेक सबै किसिमका पसलहरूमा सामाजिक दुरी कायम गरी पसलको प्रवेश द्वारमा सेवाग्राहीका लागि अनिवार्य रूपमा डोरी टाँग्ने साथै साबुन पानी र सेनिटाईजर राखी बिहान ९ बजे देखी बेलुकी ५ बजे सम्म मात्र पसल खोल्ने पनि भनिएको छ ।

सबै प्रकारका होटेल तथा रेस्टुराहरुमा सेवाग्राहीका लागि होम प्याकिङको व्यवस्था गर्नुपर्ने नगरका सबै पसलका व्यापारीले अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने र आफ्नो पसलमा आउने ग्राहक स्वंमलाई मास्क लगाएर मात्र सामान दिनुपर्ने सूचनामा उल्लेख छ । सार्वजनिक तथा निजी सवारीसाधनको हकमा सामाजिक दुरी कायम राख्ने साथै मास्क, सेनिटाईजरको अनिवार्य प्रयोग गर्न र गराउनुपर्ने उल्लेख छ ।

धरान प्रवेश गर्ने सबै नाकाहरूमा अन्य ठाउँबाट आउने तिन पाङग्रे सवारी साधन (टेम्पो, सिटी सफारी) लाई प्रवेश रोक लगाउने र धरानबाट बाहिर जान समेत पूर्ण रूपमा रोक लगाइने सूचनामा उल्लेख छ । सूचनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरान, इलाका प्रहरी कार्यालय, धरान, सशस्त्र प्रहरी बल, धरान सुनसरी उद्योग वाणिज्य सङ्घलाई बोधार्थ गरिएको छ ।

Suchana