धरान : वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना सङ्क्रमण भएको छ ।

वीरगन्जबाट ३ दिन अघि काठमाडौँ पुगेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका हुन् । सरावगीले वीरगन्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ संक्रमित हुन पुगेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ’वीरगन्जलाई ग्रिन जोन बनाउने उद्देश्यका साथ एक घर एक परीक्षणको अभियान सञ्चालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगन्जमा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ । तपाईँहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको सङ्क्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।

स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था नदेखिने भएकाले वीरगन्जवासीको जीवन रक्षाको लागि सङ्घीय र प्रदेश सरकारलाई तत्काल ठोस योजनाका साथ अधि बढ्न उनको आग्रह छ ।

उहाँले फेसबुकमा लेखेका छन् पछिल्लो पटक कोरोना सङ्क्रमणबाट वीरगन्ज आक्रान्त वनेको छ । वीरगन्जलाई बचाउन अग्र मोर्चामा रहनु हुने स्वास्थ्यकर्मी, महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु ।

कोरोना सङ्क्रमणको यो घडीमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाइ दिदी बहिनीमा अपिल गर्दछु । कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन । मैले कोरोना सङ्क्रमणको लडाई जितेर पुन तपाईँको सेवामा आउने प्रतिबद्धता जाहेर गर्दछु ।

Bijay-Sarbagi-Face-Book