धरान : विराटनगर महानगरपालिकामा दैनिक कोरोना संक्रमित बढदै गएको र समुदाय स्तरमा कोरोना सङ्क्रमण भएकोले आज राति १२ बजे देखि लागु हुने गरी १४ दिन लकडाउन गर्ने निर्णय भएको छ ।

महानगर स्तरीय कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को आज बसेको बैठकले लकडाउनको घोषणा गरेको हो । लकडाउन घोषणासँगै अत्यावश्यक सेवा बाहेक बजार र सर्वसाधारणको हिँडडुललाई पूर्ण रूपमा निषेध गरिएको छ ।

महानगरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । आज मात्रै विराटनगरमा थप १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै विराटनगर महानगरपालिकामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १०७ पुगेको छ ।

यसअघि विराटनगर महानगरपालिकाले सङ्क्रमण थप फैलन नदिन लकडाउनमा जानुपर्ने बताए पनि प्रदेश सरकारले त्यसमा सहमति दिएको थिएन ।

आज सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीय तहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्ने गरी बाटो खोलिदिएको थियो । सोही अनुसार विराटनगरमा लकडाउन घोषणा गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए ।