इटहरी : इटहरी उपमहानगरपालिकाका साबिकका २६ वटै वडामा सामाजिक परीचालीकाको रूपमा काम गर्ने कर्मचारीलाई २०७५ श्रावण १ देखी सेवाबाट बिदाइ दिइयो । तर मेयर उपमेयरका नजिक मानिएकाहरूले पुनः नियुक्ति पाए ।

वडा नम्बर ५ मा सावित्री चौधरी, वडा नम्बर ९ मा इना तामाङ, १३ मा गीता चौधरी, १९ मा उमा राना, २० मा लक्ष्मी कटवाल, १६ उर्मिला चौधरी र १८ मा नेहा तामाङ लगायत अहिले पनि उपमहानगरपालिकाको कर्मचारीको रूपमा कार्यरत छन् । बाँकी अन्यलाई भने निर्णय अनुसार नै घर पठाइयो ।

२०७५ फाल्गुन १९ को कार्यपालिका निर्णयको निर्णय नम्बर २२ मा ०७५ फाल्गुन मसान्त सम्मको दिनको ३ सयका दरले पारिश्रमिक दिने र र चैत देखी काममा नलगाउने निर्णय भएको थियो । तर निर्णय विपरीत उनीहरू थप सेवा सुविधाको साथ काम गरिरहेका छन् ।

इटहरीमा व्यक्ती पिच्छे बिना सूचना विना प्रतिस्पर्धा कर्मचारी नियुक्त भइरहेका छन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा निवेदन परिसकेको छ । पछिल्लो समय उपमहानगरमा जनप्रतिनिधिका आफन्त र नातागोताका मान्छेहरू राख्ने क्रम वृद्धि भइरहेको छ ।

करारमा कर्मचारी राख्नकोलागी उपमहानगरले आफ्नै करार ऐन करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउनुपर्ने हुन्छ । तर अहिलेसम्म कार्यविधि बिना नै कर्मचारी भर्ती गर्ने काम भइरहेको छ । उता नेपाल सरकार अर्थ मन्त्रालयले खर्च कटौती गर्न भन्दै करारमा कर्मचारी नराख्न निर्देशन दिएको छ । विभिन्न सरकारी संस्थानले कर्मचारी भर्ती गरेर अनावश्यक आर्थिक भार बढाएको भन्दै मन्त्रालयले करारका कर्मचारी राख्न रोक गरेको हो ।

उता इटहरीमा भने कम्प्युटर अपरेटरको परीक्षा फेल भएका कर्मचारीहरू समेत काम गरिरहेका छन् । उपमहानगरको विभिन्न वडामा काम गर्ने ८ जना कर्मचारीहरू कम्प्युटर अपरेटरको परीक्षामा फेल भएकाहरू छन् ।

पछिल्लो समय लिखित र सिप परीक्षामा समेत पास भइसकेका हरू विभिन्न बहानामा अन्तरवार्ता रोकिँदै आएको छ । आफूले भनेका मान्छे लिखित परीक्षामा पास नभएपछि जनप्रतिनिधिले नतिजा प्रकाशनमा असन्तुष्टि जनाएका थिए । त्यही समय कोरोना सङ्क्रमण फैलिएको भन्दै अन्तरवार्ता रोकिँदै आएको छ । तर त्यही बिचमा धेरै कर्मचारीहरू भर्ती भइसकेका छन् ।

२०७४ चैत २२ को निर्णय नम्बर ७ मा दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई मासिक तलब दिएर काममा लगाइएको थियो । जुन कानुनी रूपमा वर्जित गरिएको छ । कार्यालय सहयोगीको रूपमा कार्यरत दीपक अधिकारी, सवारी चालक अशोक धामी, अर्का सवारी चालक ध्यान दाहाललाई बिना सूचना करारमा नियुक्ति गरिएको छ ।
त्यस्तै मेयर चौधरीले १२ जना कर्मचारी निकाल्ने उद्घोष गरे अनुसार नै २०७६ पौष मसान्तमा १२ जना कर्मचारी निष्कासित भए । तर त्यसमध्ये का ९ जना कर्मचारी पुनः बिना सूचना नियुक्ति गरिएका छन् । सम्झौता उल्लङ्घन भएको ३ महिना पछि लकडाउनकै समयमा उनीहरूलाई पुनः नियुक्त गरिएको हो ।