धरान : सुनसरीको रामधुनी नगरपालिकाको क्वारेनटाइनमा बसेका एक जनामा कोरोना पुष्टि भएका व्यक्ति भागेपछि रामधुनी नगरपालिकामा पनि लकडाउन गरिएको छ ।

रामधुनी नगर क्षेत्रको समुदाय उच्च जोखिममा भएकाले हिजो बेलुका राति १२ बजेदेखि साउन २४ गतेसम्म अत्यावश्यकबाहेक नगर तथा वडाका सम्पूर्ण काम तथा हाटबजार र व्यापार–व्यवसाय बन्द गराउने नगर कार्यपालिकाले निर्णय गरेको छ ।

हिजो एक जना ४० वर्षीय पुरुष क्वारेनटाइनमा बसेकोमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । रिपोर्ट आउनु भन्दा अघि खाना खाएर बिहान ११ बजे क्वारेनटाइनबाट कोरोना संक्रमित पुष्टि भएका व्यक्ति भागेकाले रामधुनी नगरपालिकामा कोरोनाको जोखिम बढेको भन्दै लकडाउन गर्नुपरेको मेयर देवप्रकाश चौधरीले बताए । अहिले उनको खोजी भइरहेको छ । अझै फेला पर्न नसक्दा रामधुनीमा जोखिम बढेकोले लकडाउन सबै नगरबासीले पालना गरिदिनुहुन पनि अनुरोध गरिएको छ ।

कोरोना संक्रमित फरार व्यक्तिकै परिवारका ४ जनामा यस भन्दा अघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू भारतको वीरपुरमा आफन्तकोमा विवाह भोजमा सरिक भएर आएको बुझिएको छ । सङ्क्रमितहरू फिरन्ते समुदायको रहेकोले उनीहरूमा कोरोना सङ्क्रमण हुनु र भाग्नुले समुदायमा निकै ठुलो समस्या सिर्जना भएको मेयर चौधरीले बताए । अहिले सम्म रामधुनी नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।