धरान : सुनसरीको इटहरीमा एक जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३२ पुगेको छ ।

इटहरी उपमहानगरपालिकाका कोरोना संक्रमित इन्जिनियरका छोरामा कोरोना पुष्टि भएको बताइएको भए पनि अहिले सम्म रिपोर्ट नआइसकेको इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले बताइन् ।

इटहरी उपमहानगरपालिकाका इन्जिनियरमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै परिवारसहित पहिलो चरणमा ७८ जनाको पिसिआर टेस्ट गरिएको थियो । त्यसमध्ये ४० जनाको स्वाब धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान पठाएकोमा संक्रमित इन्जिनियरको छोरामा कोरोना पोजेटिभ देखिएको अपुष्ट जानकारी र हल्ला आएको उपमेयर लक्ष्मी गौतमले बताइन् । रिपोर्टको पूर्ण विवरण आएपछि मात्रै को संक्रमित हो भन्न सकिने उनले भनिन् ।