धरान : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका २ महिला कर्मचारीहरूलाई म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । 

सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परका नेत्र कुमारी भट्टराई र मेनुका कोइरालालाई जिल्ला अदालत मोरङबाट  'अभद्र व्यवहारको मुद्दा' मा ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको खड्काले बताए । उनिहरुले शनिबार ११ बजे सञ्जेललाई कुटपिट गरेका थिए ।सञ्जेललाई कुटपिट गर्ने दुवै जना कर्मचारी करारमा नियुक्त भएका यसै  कार्यालय सहयोगी हुन् ।

महिला कर्मचारीले कुटपिट गरेपछि शनिबार दिउँसो सञ्जेलले मोरङ प्रहरीमा किटान जाहेरी दिएका हुन । शनिबार साँझ दुवै पक्षबिच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो ।

सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कुटपिट गरेको महिलाहरुको भनाई छ । उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपर वेटको डल्लो, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको छ ।