धरान : इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको सवारी चालकमा कोरोना पुष्टि भएको छ ।

केही दिन अघि उपमेयरसङै काठमाडौँ गएर आएको र नाकले कुनै गन्ध थाहा नपाएको बताएपछि उपमेयरले आफ्नो चालकलाई पिसिआर परीक्षण गर्नु भनेका थिए । त्यही अनुसार उनको अस्तिको दिन स्वाब लिइएकोमा उनमा आज कोरोना पोजेटिभ रिपोर्ट आएको उपमेयर गौतमले बताइन् । आफ्नो सवारी चालकमा कोरोना पुष्टि भएपछि आफूले पनि परीक्षणका लागि स्वाब दिई सकेको बताइन् ।

यसै गरी आज इटहरीमा १ जना इलाका प्रहरी कार्यालयको कैदीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी आज नै इटहरीमै भारतबाट आएर होम क्वारेनटाइनमा बसेका एक जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

इटहरीमा यस भन्दा अघि इटहरी उपमहानगरपालिकामा कार्यरत इन्जिनियर र उनको छोरामा कोरोना पुष्टि भएको थियो । आज थप ३ जना समुदायकै मानिसमा कोरोना सङ्क्रमण भएको पाइएपछि इटहरीमा समुदाय स्तरमै कोरोना सङ्क्रमण भएको हुनसक्ने उपमेयर लक्ष्मी गौतमले बताइन् ।

समुदायको अवस्था थाहा पाउनका लागि इटहरीमा हरेक वडाबाट सम्भावित जोखिम क्षेत्रहरू, डेरी, औषधी पसल, किराना पसल र तरकारी पसल जहा धेरै मानिसको आउजाउ हुन्छ त्यस्ता टाउको १० जनाका दरले स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्न थालिएको छ । अहिले सम्म ५ वटा वडाको ५० जनाको स्वाब लिई सकिएको छ । रिपोर्ट आउन बाँकी रहेको उपमेयर गौतमले बताइन् । १० जनाका दरले २० वटै वडाका बासिन्दाको पिसिआर परीक्षण गरिसकेपछि इटहरीमा कोरोना नियन्त्रण र न्यूनीकरणका लागि कसरी अगाडी बढ्ने भन्ने विषयमा निर्णय हुने उनले बताइन् ।

यसै गरी आज नै जिल्ला प्रहरी कार्यालय सुनसरीको हाता भित्र क्यान्टिन सञ्चालन गर्ने एक जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ ।

आज सुनसरी जिल्लामा धरानमा १, इटहरीमा ३ र इनरुवामा १ जना गरी जम्मा ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा आज थपिएका ५ जना सहित कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ भने १ सय १६ जना निको भएर डिस्चार्ज भइसकेका छन् । ३१ जना प्रदेश १ का विभिन्न कोभिड १९ अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । 

प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित भेटिएका प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।