धरान : अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६५ वर्षीय अमेरिकी नागरिक डेनियल ली म्यासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित भक्तपुर सूर्यबिनायक नगरपालिका-६ घर भएका टुक नारायण श्रेष्ठको एटलास सेक्युरिटी प्राईभेट लिमिटेडलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउँछु भनी १० लाख रुपैयाँ ठगी गरेका थिए ।

म्यासीले सुजन थापा र सन्दीप कार्कीलाई समेत बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई प्रक्राउ गरेको महाशाखाका प्रवक्ता दिपक थापाले जानकारी दिए । 

पर्यटन पेसामा आबद्ध रहेका म्यासी लुकिछिपी काठमाडौंको क्षेत्रपाटी बस्दै आएको सूचनाका आधारमा पक्राउ परेका थिए ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको थापाले बताए ।

निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको सम्भावना रहेकोले निजबाट ठगीमा परेकालाई  संम्पर्कमा आउनको लागी महाशाखाले अनुरोध गरिएको छ साथै ठगहरुले विभिन्न वहाना तथा प्रलोभनमा पार्न सक्ने हुनाले सजग र सचेत रही संभावित ठगीबाट जोगिनको लागी समेत अनुरोध गरेको छ ।