धरान :  साउन १३ गते कार्टुनमा राखिएको बच्चाको एउटा तस्वीर भाइरल भएको थियो । आकाशेधारा कपनमा साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्ने घटनामा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको जानकारी दिएकाछन ।

खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी हुन् । विदेशमा बलात्कृत भएका कारण उनले शिशुलाई आफूसँग राख्न सकिनन् र केयर बालगृहको जिम्मा लगाएकी थिइन् ।

केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् ।

अवोध शिशुलाई देखाएर नियोजित रुपमा रकम संकलन गर्ने पुष्पाको नियत बाहिरिएपछि हिजो विभिन्न माध्यमबाट शिशुलाई सहयोग गरेकाहरु आज उक्त सहयोगका रकम र सामान फिर्ता लिइरहेका छन् ।

त्यो देखेपछि शिशुकी आमा आफैं बालगृह पुगिन् र बच्चा आफूलाई नै दिन माग गरेकी थिइन् । प्रहरीले आमाको दाबी स्वीकार गरेको छ र बच्चा उनलाई जिम्मा लगाएको छ । तर शिशु बेवारिसे नभएको पाइएपछि बालगृहकी सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् । उनीमाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोप लागेको छ ।

संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले स्रोतले बताएको छ । यसका लागि प्रहरीले संस्थासँग सम्बन्धित व्यक्तिको बैंक विवरण मगाएको छ । तर पुष्पाले भने आफूलाई पछि अफ्ठ्यारो नपरोस् भनेर बेवारिसे बच्चा फेला परेको भनेको बयान दिएकी छन् ।

घटनामा संलग्न रहनेहरुको थप अनुसन्धान भइरहेको र अहिले बाहिर विभिन्न कुराहरू आए पनि अनुसन्धान सकिएपछि मात्रै घटना बारे भन्ने ज्ञवालीले बताएकाछन ।