धरान : सुनसरीको सदरमुकाम इनरुवा, दुहबी र इटहरीमा लकडाउन घोषणा गरिएको छ ।

कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति इटहरी उपमहानगर स्तरीय आकस्मिक बैठकले इटहरी उपमहानगरपालिकामा भरै राति १२ बजे देखि लागु हुने गरी पाँच दिन लकडाउन गर्ने निर्णय भएको छ । इटहरीमा समुदाय स्तरमा कोरोना सङ्क्रमण भएको भन्दै लकडाउन घोषणा गरिएको इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिएका छन् ।

यसै गरी उता सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा पनि पाँच दिन लकडाउन घोषणा गरिएको छ । गत १८ गते इनरुवाका राजनितिककर्मी, प्रहरी, पत्रकार र आशङ्का गरिएका व्यक्ति गरी ७५ जनाको स्वाब सङ्कलन गरिएकोमा आज एक जना मेडिकल सञ्चालकको रिपोर्ट कोरोना पोजेटिभ आएपछि सुनसरी सदरमुकाम इनरुवा लकडाउन गरिएको हो । इनरुवामा पनि साउन २६ गते सम्मलाई लकडाउन घोषणा गरिएको हो ।

यसै गरी यता सुनसरीको दुहबी नगरपालिकामा पनि लकडाउन घोषणा गरिएको छ ।

दुहबीमा आज ४ जना कोरोना संक्रमित पुष्टि भएका मध्ये एक जना नगरपालिकाका कर्मचारी पनि हुन् । नगर प्रमुख वेदनारायण गच्छदारको अध्यक्षतामा बसेको कोभिड १९ आपतकालिन व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

दुहबीमा आज देखि भदौ २ गतेसम्म लकडाउन लागु हुनेछ । यो निर्णय उल्लङ्घन गरेमा प्रति पटक ५ हजार जरिवाना गर्ने निर्णय पनि गरेको छ ।