धरान : धरानमा हिजो साँझ कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमितहरूलाई अहिले सम्म अस्पताल लगिएको छैन ।

हिजो राति अबेर मात्रै कोरोना पोजेटिभ रिपोर्ट आएका १२ जना कोरोना संक्रमित अहिले सम्म होम आइसोलेसनमै रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

कोरोना सङ्क्रमण पुष्टि हुने बित्तिकै सङ्क्रमितलाई विषेश रुपमा आइसोलेटेड  गरिनुपर्नेमा अहिले सम्म अस्पताल नलगिँदा समस्या भएको धरान-३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठले बताए ।

बीपीमा कोरोना संक्रमित राख्ने बेड अभाव भएकोले ढिलो भएको आफूलाई जानकारी आएको वडाध्यक्ष श्रेष्ठले बताए । एकै परिवारका ५ जनामा कोरोना सङ्क्रमण भएकोमा दुई जना वृद्ध-बृद्धा  भएकोले बीपीमै उपचारका लागि लान तयारीको लागि समन्वय भइरहेको बताइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७७ जना उपचाररत रहेकोले प्रतिष्ठानमा बेड अभावका कारण सङ्क्रमितहरूलाई उपचारमा लान ढिलो भएको बुझिएको छ ।