झापा : जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिका-५ टुक्रेस्थित नयाँ बस्तीमा एक जनाको मृत्यु भएको छ ।

शुक्रवार बिहान ४ बजेतिर हात्तीको आक्रमणमा परी नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जङ्गल क्षेत्रबाट आएको हात्तीले रेग्मीलाई कुल्चिएर मारेको आशङ्का गरिएको छ ।

हात्तीको आक्रमणमा परेका रेग्मीको घटनास्थलमै मृत्यु भएको थियो । हात्तीले उनको टिनको छाना र बाँसको टाटीबेरा भएको घरसमेत भत्काएको छ ।