धरान : इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ सङ्क्रमितहरूलाई भिडियो कल मार्फत सेवा दिन थालेको छ ।

अस्पतालहरूमा बेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्माले बताएका छन् । होम आइसोलेसन रहेका सङ्क्रमितको अवस्था बुझेर स्वास्थ्य परामर्श सेवा दिइरहेको डा. शर्माले बताए । होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानी र ध्यान दिनुपर्ने कुराहरू बताइसकिएको छ ।

इटहरीमा अहिले ६ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् । सङ्क्रमण पुष्टि भइसकेपछि पनि कुनै लक्षण नदेखिएकाहरुलाई इटहरीमा आवश्यक मापदण्ड पूरा गरेर घरमै बस्न मिल्ने व्यवस्था गरिएको छ ।
होम आइसोलेसनमा रहेका लक्षण रहित सङ्क्रमितलाई भिडियो मार्फत परामर्श दिने र लक्षण देखा परे वा स्वास्थ्य समस्या जटिल भए कोभिड अस्पतालमा रेफर गरिने इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाले बताए ।

कोरोना सङ्क्रमितहरूलाई मोबाइल न. ९८५२०७३२४८ ह्वाट्स एप वा भाइवर कल मार्फत समेत परामर्श दिइने इमरजेन्सी प्रमुख धमलाले बताए । अहिले सम्म इटहरी उपमहानगर क्षेत्रमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या २८ जना पुगेको छ । ती मध्ये १४ जना निको भएर घर फर्किएका छन् । आठ जनाको प्रदेश १ का विभिन्न कोभिड आइसोलेसनहरूमा भर्ना भएर उपचाररत रहेको इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिएका छन् ।