धरान : धरानमा आज बिहान कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये धरान १३ का दुई जना एन्फा क्वारेनटाइनमा नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज भएका दुई जना भएको बताइएको छ ।

उनीहरू दुबईबाट नेपाल आएपछि चतराको होल्डीङ सेन्टर हुँदै एन्फा क्वारेनटाइनमा बसेर कोरोना परीक्षण गर्दा उनीहरू दुवैको रिपोर्ट कोरोना नभएको आएको थियो । त्यस पछि उनीहरू क्वारेनटाइनबाट डिस्चार्ज भएकोमा आज फेरी उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

कसरी संक्रमित भए त ?
कोरोना संक्रमित पष्टि भएका धरान १३ का दुई जना ३४ र ४३ बर्षिय पुरुष वैदेशिक रोजगारीको सिलसिलामा  दुवाइ पुगेका थिए ।

दुवाइबाट फर्किदा नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार नै धरान आए । चतराको होल्डीङ सेन्टर हुँदै एन्फा क्वारेनटाइनमा आई पुगेका उनीहरू क्वारेनटाइनमा बसे । क्वारेनटाइनमा कोरोना परीक्षण गरेपछि उनीहरूमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएर घर जाने तयारीमा थिए । त्यही बेला भारतीय सेनामा कार्यरत भारतीय सेनाका व्यक्तिहरू पनि उनीहरू बसेको कोठामा बस्न आई पुगे ।

उनीहरू खोक्दै पनि थिए र हल्का ज्वरो पनि थियो । ती भारतीय सेनाको कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनीहरूलाई डिस्चार्ज नै नगरी अर्को व्यक्तिलाई कोठामा राखेकोले उनीहरू आफै सशङ्कित भएर १३ नम्बर वडा कार्यालयमा पुनः परीक्षणका लागि पुगे । यसरी पुनः परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ रिपोर्ट देखिएको धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

आज धरानमा थपिएका ९ जना कोरोना संक्रमित मध्ये ३ जना एन्फा क्वारेनटाइनका रहेका छन् भने १ जना होटेल क्वारेनटाइनमा बसेका र २ जना एन्फा क्वारेनटाइनबाट डिस्चार्ज भएर होम क्वारेनटाइनमा बसेका रहेको बताइएको छ । धरान १० का १६ र २० वर्षीय युवती भने समुदायमै संक्रमित भएको बताइएको छ । उनीहरू धरान ८ को क्रन्च जीम हलमा जिम गर्न जाने खुलेको छ ।