धरान : प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष, १ महिला, पथरी शनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष, २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, झापाको कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ बाहिरका सिराहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ६५ पुगेको छ ।

प्रदेश १ बाट आज ९९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ६८ जना, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेहरूमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बु र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार १४ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर गरिएका मध्ये ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।