धरान : विराटनगरमा फ्रन्ट लाइनमा रहेर काम गर्ने ६ सञ्चारकर्मीमा कोरोना सङ्क्रमण भएको छ ।

विराटनगर महानगरपालिकामा पछिल्लो समय समुदाय स्तरमै कोरोना सङ्क्रमण भएको भनिरहँदा विराटनगरका ६ जना पत्रकारमा पनि कोरोना सङ्क्रमण भएको हो । कोरोना संक्रमित हुनेहरूमा मोहन भण्डारी, सञ्जीव खनाल, कमल रिमाल, बाबुराम भण्डारी, दिनेश शाह र जितेन्द्र ठाकुर रहेका छन् ।

 उनीहरू मध्ये कमल रिमाल, दिनेश शाह, बाबुराम भण्डारी कोभिड आइसोलेसनमा भर्ना भएका छन् भने सञ्जीव खनाल, मोहन भण्डारी होम आइसोलेसनमा रहेका छन् भने जितेन्द्र ठाकुर आइसोलेसनमा भर्ना हुने क्रममा रहेको बताइएको छ ।

पछिल्लो समय विराटनगर महानगरपालिकामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय १३ पुगेको छ । विराटनगरमा समुदायमा, सुरक्षाकर्मी र सञ्चारकर्मीमा समेत कोरोना सङ्क्रमण भइरहेको अवस्था रहेको छ ।
विराटनगरमा लकडाउन घोषणा गरिएको भए पनि लकडाउन पुर्णरुपमा सर्वसाधारणले पालना नगरिदिँदा झन् जोखिम बढेको बताइएको छ ।