धरान : धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदी सहित धरान १३ का १ सय ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

धरान उपमहानगरपालिकाको वातावरण शाखामा कार्यरत एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि उनीसँगको कनट्र्याक्ट ट्रेसिङको क्रममा मञ्जु भण्डारी सुबेदीको र उनको परिवारको स्वाब लिइएको थियो । केही दिन देखि उपमेयर होम क्वारेनटाइनमा बसेकी थिइन् ।

आज उपमेयर र उपमेयरको परिवार अनि मास टेस्टिङको क्रममा धरान १३ का १४२ जनाको स्वाब लिइएकोमा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । धरान उपमहानगरपालिकाका अरू कर्मचारीहरूको भने रिपोर्ट आउन बाँकी रहेको पनि प्रमुख मेहेताले बताए ।

मङ्गलवार धरानमा ९३ जनाको स्वाबको नमुना लिइयो
धरान ८ मा रहेको क्रन्च फिटनेसमा जिम जाने ५ जनामा कोरोना सङ्क्रमण भएको पाइएपछि क्रन्च फिटनेसका ८९ जना, एन्फा क्वारेनटाइनका १ जना, कनट्र्याक्ट ट्रेसङका ३ जना गरी ९३ जनाको स्वाबको नमुना आज लिइएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

धरान १७ को सप्तरङ्गी पार्कमा स्वाब लिइएको थियो भने सबैको स्वाबको नमुना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

धरानका ४ कोरोना संक्रमित अस्पताल भर्ना
हिजो बिहान कोरोना सङ्क्रमण पुष्टि भएका ४ जनालाई आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ ।

आज साँझ अबेर भर्ना गरिएकाहरूमा एन्फा क्वारेनटाइनका ३ जना, एक जना होटल क्वारेनटाइनका गरी ४ जनालाई भर्ना गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले जानकारी दिए । धरानमा अझै ६ जना कोरोना संक्रमित होम आइसोलेसनमै रहेका छन् ।