धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड आइसोलेसनमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको आज बिहान ३ बजे तिर मृत्यु भएको आफूलाई जानकारी आएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

गम्भीर अवस्थामा दुई दिन अघि मात्रै प्रतिष्ठानमा ल्याइएको बताइएको छ । यसबारेमा थप जानकारीका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटालाई टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

अहिले मृतकको शव व्यवस्थापनका लागि समन्वय भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या प्रदेश नं. १ मा ७ पुगेको छ ।