धरान : कोरोना भाइरसको कारण लकडाउन घोषण भएको चैत ११ गते देखि अहिले सम्म व्यापार व्यवसाय सहजरुपमा सञ्चालन हुन सकेको छैन ।

चैत ११ देखि लागु गरिएको लकडाउन साउन देखि खुकुलो भयो । तर कोरोना सङ्क्रमण दर कम देखिएको भन्दै लकडाउन आधिकारिकरुपमा थपिएन । यसरी लकडाउन खुकुलो हुँदा मानिसको चहलपहल पनि बढ्यो । भारत लगायत विदेशबाट आउने मानिसहरूको पनि सङ्ख्या बढेर गयो । यो सँगै कोरोना सङ्क्रमण पनि बढ्दै गयो । अहिले आएर दैनिक ११ सयको हाराहारीमा संक्रमित थपिँदै छन् ।

कोरोना संक्रमित बढेको र समुदाय स्तरमै कोरोना सङ्क्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायहरूले निषेधित क्षेत्र र लकडाउन घोषणा गरे । सबै मानिसलाई घर बाहिर ननिस्किन भनियो । तर निषेधित क्षेत्र र लकडाउन घोषणामा सर्वसाधारण घर बाहिर हिडन थाले व्यापारी व्यापार व्यवसाय छाडेर घरमै बसे । यसले गर्दा निषेधित क्षेत्र र लकडाउन सर्वसाधारणलाई होइन व्यापार व्यवसाय गर्ने व्यापारीलाई मात्रै लागेको सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाले बताए ।

यति लामो समय सम्म भएको लकडाउनले गर्दा अहिले व्यापार व्यवसाय गर्ने व्यापारीहरू सबै भन्दा मर्कामा परेको भन्दै बजार सञ्चालनमा सहजीकरण गर्न नगरपालिकाको सुरक्षा समितिको बैठकमा अध्यक्ष सापकोटाले माग गरे ।

निरन्तरको बन्दले जुत्ता चप्पल ड्यामेज हुन थाले, कपडा पसलमा मुसाले क्षति पुर्‍याउन थाल्यो । त्यसैले जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधित क्षेत्रको स्वास्थ्य मापदण्डलाई अवलम्बन गर्दै बिहान १० बजे सम्म बजार पसल सञ्चालन गर्ने भनिएकोमा थप १२ बजे सम्म बजारमा सहजीकरण हुनुपर्नै बैठकमा कुरा उठाइएको थियो ।

लकडाउन र बन्दको विकल्प सरकारले खोज्नुपर्ने सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाको भनाई छ । उनले भने “जनप्रतिनिधि र कर्मचारीले तलब पाएकै छन् लकडाउन भन्यो, सर्वसाधारण मास्क नलगाई बजारमा हिँडिरहेका हुन्छन् व्यापारीलाई भने लकडाउन कडाइ गर्ने ? यो त भएन नि ? त्यसैले व्यापारीको सहजताको लागि पनि सरकारले विकल्प दिनुपर्‍यो ।

भोलि देखि बजारलाई केही खुकुलो बनाउने र स्वास्थ्य सुरक्षाको मापदण्डलाई अपनाएर बजारलाई दिउसो १२ बजे सम्म सञ्चालन गर्ने र कार्यपालिकामा सिफारिस गर्ने विषयमा छलफल भएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत देवकुमार सापकोटाले बताए ।

धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बसेको बैठकमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र बहादुर कार्की, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरी बल फुस्रेका प्रमुख डिएसपी सुमन पोख्रेल, सुनसरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अञ्जन कोइराला र धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइराला लगायतको उपस्थिति रहेको थियो ।