इटहरी : होटेल व्यवसायी सङ्घ इटहरीले दुई चरणमा होटेल खोल्ने बताएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै सङ्घले भदौ २५ र असोज १ गते गरी दुई चरणमा होटेल खोल्ने जानकारी गराएको हो ।

पहिलो चरणमा सानो लगानीका चिया पसल, खाजा घर तथा रेस्टुरेन्ट खोल्ने र दोस्रो चरणमा ठुला होटेल तथा लज सञ्चालनको तयारी रहेको सङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

विगत ६ महिना देखी जारी लकडाउनको कारण करोडौँको लगानी र हजारौँ व्यवसायी तथा कर्मचारीहरू मारमा परेका र उनीहरूमा आश्रित परिवारको अवस्था दिनानुदिन भयावह हुँदै गएकोले अब होटेल खोल्नुको विकल्प नरहेको सङ्घको भनाइ छ ।

अझै पनि होटेल सञ्चालनमा रोक लगाउने हो भने भोलिका दिनमा झनै भयावहको स्थिति सामना गर्नुपर्ने अवस्था सृजना हुँदै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

दुरी कायम गर्ने तथा सुरक्षाको उपाय अपनाएर भाद्र २५ गते देखी साना लगानीको चिया पसल तथा साना लगानीको होटेल र असोज १ गते देखी ठुलो लगानीको लजहरू खोल्ने व्यवस्था मिलाइदिन जिल्ला प्रशासन समक्ष माग गरिएको सङ्घका अध्यक्ष जीवन पराजुलीले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खुलेका ठुला लगानीका होटेलहरू धराशायी भएको उनको भनाइ छ । बैङ्कको व्याज र घर भाडा तिर्न नसकेर अप्रिय घटना हुनसक्ने र पलायन समेत हुनसक्ने अवस्थालाई मध्यनजर सुरक्षा उपाय अपनाएर होटेल खोल्ने अनुमति दिन आग्रह गरिएको पराजुली बताउँछन् ।

सङ्घले बुझाएको ज्ञापन पत्रमा इलाका प्रहरी कार्यालय इटहरी, उद्योग वाणिज्य सङ्घ इटहरी, इटहरी उपमहानगरपालिका र होटेल व्यवसायी सङ्घ प्रदेश १ लाई बोधार्थ दिइएको छ ।

hotel byawasi press ita